अविचार

संसार घुम्ने सपना, बदलिँदा सम्बन्ध

October 2, 2026 · युट्युब

अलि अगाडि म पेमान अल्मार (Peyman Almar) नाम गरेका एक साइकलिस्टको युट्युब च्यानल नियमित हेर्थेँ। त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्स लगायत नयाँ प्रविधिको चक्करमा मेरा रोजाइहरू फेरिएजस्तै भयो। पहिले हेर्ने गरेका च्यानलहरू बिस्तारै कम हेर्न थालेँ र नयाँ च्यानलहरू हेर्ने बानी पर्न थाल्यो। मलाई थाहा छ, अहिले हेर्दै गरेका च्यानलहरू पनि केही समयपछि बिर्सिइन्छन्।

म पेमानको कुरा गर्न लागिरहेको थिएँ। पहिले उनको यो साइकल यात्रालाई म उनको हस्की स्वर र उनकी गर्लफ्रेन्डसँग गरेको कठिन यात्राका कारण सम्झिन्थेँ। “यो मान्छे साँच्चै नै अप्ठ्यारो-अप्ठ्यारो ठाउँ जान्छ कि यस्तै देखाउँछ मात्र?” जस्तो लाग्थ्यो। बीचमा उनलाई हेर्न छोडेछु।

संसार घुम्ने सपना, बदलिँदा सम्बन्ध

एक्कासि मैले उनको भिडियोमा अर्कै नयाँ केटीसँग साइकलिङ गरेको देखेँ। त्यसपछि के भएको रहेछ भनेर मेरो मनमा कौतुहलता बढ्यो। त्यसपछी गुगल गर्दा उनको बारेमा लेखिएका विभिन्न सामग्री र उनकै भिडियोहरू हेर्दै जाँदा उनको बारेमा झनै धेरै कुरा थाहा हुन थाल्यो।

संसारका कठिनभन्दा कठिन बाटाहरू, माइनस डिग्रीको हिउँ, सहारा मरुभूमिको धूलो र पालभित्रको सामान्य जिन्दगीलाई क्यामेरामा उतार्ने यो च्यानल आज पर्यन्त लाखौँले सब्सक्राइब गरेका छन्। भिडियोमा उनिहरुको जोश र ऊर्जा हेर्नलायक हुन्छ। तर च्यानललाई सुरुदेखि क्रमबद्ध रूपमा नियाल्ने हो भने उनको यात्रा मात्र होइन, उनको निजी जीवन र सम्बन्धको उतारचढाव पनि उत्तिकै चाखलाग्दो देखिन्छ।

केही वर्षअघिसम्म पेमानसँगै साइकलमा पाइडल नाप्ने माटिल्डा (Matilda) थिइन्। तर आज च्यानलमा पेमानसँगै उत्तिकै हाँसिरहेकी, हिउँमा स्कीइङ गरिरहेकी र मरुभूमिमा पसिना बगाइरहेकी सैलर (Sailor) देखिन्छिन्। यो परिवर्तन देखेपछि धेरै दर्शकहरूको मनमा एउटा फरक खालको प्रश्न उठ्न पनि सक्छ, “के पेमानले च्यानल चलाउन र आफ्नो स्वार्थ पूरा गर्न यी दुई महिलालाई प्रयोग मात्र गरेका हुन्? के उनी सम्बन्धमा इमानदार छन् त?”


तीन अनौठा जीवन: को हुन् पेमान, माटिल्डा र सैलर?

यो सम्बन्धको भित्री कथा बुझ्नका लागि यी तीनै जनाको पृष्ठभूमि र उनीहरू कस्तो परिवेशबाट आएका हुन् भन्ने कुरा बुझ्न जरुरी छ। किनकि उनीहरूको व्यक्तित्व र स्वभावले नै धेरै हदसम्म उनीहरूको जीवनको बाटो तय गरेको देखिन्छ।

पेमान अल्मार: मलाई पेमान कहिल्यै पनि फिनिस जस्ता लागेका थिएनन्। खासमा उनी अजरबैजान (Azerbaijan) मा जन्मिएका रहेछन्। यद्यपि किशोर अवस्थादेखि नै उनी फिनल्यान्डको अत्यधिक चिसो र हिउँ पर्ने लापल्यान्ड (Lapland) क्षेत्रमा बस्दै आएका रहेछन्। सायद दुई फरक भूगोल र परिवेशको अनुभवले गर्दा नै होला, उनमा जस्तोसुकै कठिन मौसम र परिस्थितिमा पनि आफूलाई अनुकूल बनाउन सक्ने गजबको क्षमता विकास भयो।

उनी तालिमप्राप्त वाइल्डरनेस गाइड (Wilderness Guide) र पर्वतारोही हुन्। समाजले तोकेको बिहान ९ देखि साँझ ५ बजेसम्मको जागिर र एउटै ठाउँमा सीमित भएर बस्ने जीवनशैली उनलाई कहिल्यै मन परेन। उनी मनैदेखि एक प्रकारका ‘स्वच्छन्द चरा’ भन्दा पनि हुने रहेछ । चुनौतीपूर्ण काम, कठिन यात्रा र नयाँ अनुभवमा रमाउने उनको स्वभाव रहेछ। उनको मुख्य नसा भनेकै निरन्तर यात्रा गरिरहनु हो।

पेमान स्वभावैले निकै जिद्दी र एकोहोरो देखिन्छन्। उनी आफैँ र उनकी पार्टनर सैलरले NomadsTrails About Page मा पनि आफूहरू दुवै जना निकै जिद्दी (Stubborn) भएको स्वीकार गरेका छन्। पेमानले एकपटक कुनै कठिन वा असम्भवजस्तो देखिने यात्राको लक्ष्य बनाएपछि, परिस्थिति जति अप्ठ्यारो भए पनि सजिलै पछि हट्दैनन्।

यही स्वभाव उनको सबैभन्दा ठूलो शक्ति पनि हो र कहिलेकाहीँ कमजोरी पनि। उनको दृढताले उनलाई संसारका निकै कठिन ठाउँसम्म पुर्‍याएको छ। तर कतिपय अवस्थामा यही हदभन्दा बढीको जिद्दीपन र लक्ष्यप्रतिको एकोहोरोपन यात्रा साझेदारका लागि मानसिक रूपमा थकाउने खालको पनि हुन सक्छ।

माटिल्डा : फिनल्यान्डकै रैथाने माटिल्डा स्वभावले निकै शान्त, भद्र र प्रकृतिसँग नजिक भएर बस्न रुचाउने महिला रहिछिन्। पेमानसँग भेट हुनुअघि उनले फिनल्यान्डमै सामान्य जीवन बिताइरहेकी थिइन्। पेमानको यात्राप्रतिको जोश देखेर उनी पनि प्रेरित भइन् र भ्यानको कष्टकर जीवनदेखि साइकलमा संसार नाप्ने लामो यात्रासम्म उनीसँगै निस्किएकी रहिछिन्।

मलाई चाहिँ कताकता उनी साइकलिङको फ्यान भएरभन्दा पनि पेमानप्रतिको आकर्षण र उनीसँगको सम्बन्धका कारण साइकल यात्रामा निस्किएकी हुन् जस्तो लाग्छ।

माटिल्डा साहसी त थिइन्, तर सायद उनी अत्यन्तै फिरन्ते र अनिश्चित जीवनका लागि बनेकी थिइनन्। उनलाई यात्रा मन पर्थ्यो, नयाँ ठाउँ हेर्न र प्रकृतिसँग समय बिताउन पनि रुचि थियो। तर एउटा निश्चित समयपछि घर, परिवार र स्थिर जीवनको न्यानोपन पनि उनलाई उत्तिकै प्यारो लाग्नु स्वाभाविक थियो। आखिर निरन्तर यात्रामै बाँचिरहनु सबैका लागि सहज हुँदैन।

सैलर : सैलरको पृष्ठभूमि पेमान र माटिल्डा दुवैको भन्दा अलि फरक र कडा खालको रहेछ। फिनल्यान्डको सामुद्रिक तटीय क्षेत्र (Archipelago) मा हुर्किएकी सैलर फिनिस कोस्ट गार्ड (Finnish Coast Guard) मा ‘नेभल अफिसर’ (Naval Officer) का रूपमा कार्यरत छिन्। मलाई लाग्छ त्यसैले कडा अनुशासन, शारीरिक तालिम र मानसिक दबाब उनका लागि नयाँ कुरा होइनन्।

उनी फिटनेसमा पनि निकै रुचि राख्ने पर्सनल ट्रेनरसमेत रहिछिन । माइनस डिग्रीको समुद्रमा पौडी खेल्नु होस् वा घण्टौँसम्म हिउँमा दौडिनु, यस्ता कुरा उनका लागि त्यति असामान्य देखिँदैनन्। सैन्य पृष्ठभूमि र कडा तालिमकै कारण होला, कठिन परिस्थितिमा पनि आफूलाई सम्हालेर अघि बढ्ने क्षमता उनमा निकै बलियो देखिन्छ।

मलाई चाहिँ यही कारणले पेमान र सैलरको स्वभाव एकअर्कासँग धेरै हदसम्म मिलेको जस्तो लाग्छ। पेमानले रोज्ने कठिन बाटो, कठोर मौसम र शरीरको सीमासम्म पुग्ने यात्रालाई सैलरले शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि सजिलै साथ दिन सक्ने देखिन्छ। माटिल्डाको तुलनामा पेमानको अत्यन्तै चुनौतीपूर्ण र अनिश्चित जीवनशैलीसँग सैलर अलि स्वाभाविक रूपमा फिट भएकी हुन् कि जस्तो लाग्छ ।


त्यो संघर्षको दिन र माटिल्डासँगको सामिप्यता

धेरैलाई लाग्न सक्छ, युट्युब च्यानल हिट भएपछि पेमानले माटिल्डालाई चटक्कै छोडिदिए। तर वास्तविकताको तस्वीर अलि फरक देखिन्छ। यो च्यानल आज जुन उचाइमा पुगेको छ, त्यसको जग पेमान र माटिल्डाले सँगै बसेर हालेका हुन्।

सुरुवाती दिनमा यात्राका लागि पैसा बचाउन यो जोडीले फिनल्यान्डको हेलसिन्कीमा दुई वर्षसम्म एउटा सानो भ्यानमै जीवन बितायो। जतिबेला न त्यहाँ राम्रो हिटिङको व्यवस्था थियो, न त बग्ने पानी नै। कठ्याङ्ग्रिने जाडोमा उनीहरूले सँगै सुख-दुःख साटे। सन् २०१८ मा उनीहरूले साइकल यात्रा सुरु गरे र युरोप पार गर्दै अफ्रिकाको गाम्भियासम्म पुगे।

यदि पेमानको नियत माटिल्डालाई ‘युज’ गर्ने मात्र हुन्थ्यो भने, दुःखको त्यो अँध्यारो सुरुङमा उनले माटिल्डालाई सँगै राख्ने थिएनन् जस्तो लाग्छ। सुख आउने बेला, च्यानलबाट पैसा कमाउने बेला मात्र कसैलाई आफ्नो जीवनमा भित्र्याउनुलाई ‘प्रयोग गर्नु’ भन्न सकिएला। तर सँगै अभाव झेल्ने, भोक सहने र कठिन समय काट्ने सम्बन्धलाई त्यति सजिलै स्वार्थी भन्न मिल्दैन।

यो सम्बन्धको इमानदारिता त्यतिबेला झन् प्रस्ट देखिन्छ, जब यात्राका क्रममा माटिल्डाको ढाडमा गम्भीर समस्या देखियो। पेमानले आफ्नो यात्राको गति रोके। उनले महिनौँसम्म गाम्भियामै बसेर माटिल्डाको हेरचाह गरे। एउटा स्वार्थी मान्छेले आफ्नो भिडियो, यात्रा र भ्युजका लागि बिरामी पार्टनरलाई छोडेर अगाडि बढ्न पनि सक्थ्यो। तर पेमानले त्यसो गरेनन्। उनीहरूको गाम्भियाको संघर्ष, आपसी समझदारी र माटिल्डाको स्वास्थ्य अवस्थाबारे च्यानलमा रहेको यो " target="_blank" rel="noopener">Interview with Matilda and Peyman (Nomad’s Trails) हेर्न सक्नुहुन्छ, जहाँ उनीहरूको आपसी आदर र इमानदारिता स्पष्ट देखिन्छ।


किन टुट्यो त माटिल्डासँगको साथ?

सन् २०२२ को अक्टोबरमा जब उनीहरू अलग भए, अगल भए भन्नाले पेमानले लुकिछिपी वा कुनै बहाना बनाएर सम्बन्ध लुकाएका थिएनन । उनले च्यानलमा निकै परिपक्व र इमानदार तरिकाले फ्यानहरू माझ ब्रेकअपको घोषणा गरेका छन।

उनीहरू छुट्टिनुको मुख्य कारण कुनै तेस्रो व्यक्ति वा झगडा थिएन। कारण थियो - जीवनको फरक लक्ष्य।

लामो समयको कठिन यात्रा र स्वास्थ्यको समस्यापछि माटिल्डालाई महसुस भयो कि उनलाई अब यो फिरन्ते र अनिश्चित जीवनभन्दा एउटा स्थिर, शान्त र सामान्य पारिवारिक जीवन चाहिएको छ। अर्कोतर्फ, पेमानको आत्मा नै एड्भेन्चरमा थियो। उनी कहिल्यै एउटा ठाउँमा बाँधिएर बस्न सक्ने व्यक्ति थिएनन्।

हाम्रो नेपाली समाजमा पनि भनिन्छ नि “मन मिले मेला, नमिले झमेला”। विचार र जीवनको बाटो नै अलग भएपछि जबरजस्ती सम्बन्धको नाटक गरेर बस्नुभन्दा हाँसी-हाँसी एकअर्काको निर्णयलाई सम्मान गर्दै आ-आफ्नो बाटो लाग्नु नै वास्तविक इमानदारिता हो। पेमानले माटिल्डालाई धोका दिएका रहेनछन , बरु उनको इच्छा र स्वतन्त्रतालाई सम्मान गर्दै बिदा गरेका हुन्। पेमानले माटिल्डा सकुशल रहेको र आफूहरू सधैं असल साथी रहने कुरा आफ्नो Official Instagram Statement मा स्पष्ट रूपमा पोस्ट गरेका छन्। आज पनि च्यानलमा माटिल्डाका पुराना भिडियोहरू सुरक्षित छन्, जसले पेमानको मनमा माटिल्डाप्रति अझै पनि सम्मान छ भन्ने प्रमाणित गर्छ।


सैलरको आगमन: नयाँ ऊर्जा र समान क्षमता

माटिल्डासँगको सम्बन्ध पूर्ण रूपमा सकिएको केही समयपछि मात्र पेमानको जीवनमा सैलरको प्रवेश भयो। सैलर यो यात्रामा कुनै दबाब वा बाध्यताले आएकी होइनन्। उनले आफ्नो स्थापित जागिरबाट लामो बिदा लिएर, आफ्नै खुसी र रहरले यो बाटो रोजेकी हुन्। च्यानलमा सैलरको हाँसो, उनको आत्मविश्वास र पेमानसँगको ट्युनिङ हेर्दा कतै पनि उनलाई ‘प्रयोग गरिएको’ महसुस हुँदैन। बरु उनी च्यानलको बराबरको हिस्सेदार बनेर उभिएकी छिन्। च्यानलको नाम ‘पेमान ब्लग’ नभएर आज पनि NomadsTrails नै रहनुले पनि दुवै पार्टनरलाई पेमानले बराबरको स्थान दिन्छन् भन्ने देखाउँछ।

पेमानको जीवनमा जुन पागलपन छ, त्यसलाई धान्न सक्ने क्षमता सैलरसँग छ। हाल उनीहरू 5Athlon नामक एउटा ऐतिहासिक महाअभियानमा छन्, जहाँ उनीहरूले नर्वेदेखि दक्षिण अफ्रिकाको अन्तिम विन्दुसम्म केवल आफ्नो शारीरिक बल (स्कीइङ, रनिङ, स्विमिङ र साइक्लिङ) को भरमा यात्रा गरिरहेका छन्।


बलिउड फिल्मको स्क्रिप्ट जस्तै पेमानको जिन्दगी

यदि पेमानको जीवन, उनको फिरन्ते स्वभाव, र माटिल्डा तथा सैलरसँगको उनको सम्बन्धलाई लिएर कुनै हिन्दी फिल्म बनाउने हो भने, यो फिल्म ठ्याक्कै ‘ये जवानी है दीवानी’ (Yeh Jawaani Hai Deewani) जस्तो बन्ने थियो।

पेमानको क्यारेक्टर यो फिल्मको मुख्य पात्र ‘कबीर उर्फ बन्नी’ (रणवीर कपूर) सँग दुरुस्तै मिल्छ। फिल्ममा बन्नीको एउटै मात्र सपना हुन्छ संसार घुम्ने, नयाँ-नयाँ ठाउँ एक्सप्लोर गर्ने र एउटै ठाउँमा कहिल्यै नबाँधिने। उनी भन्छन् नि “मैं उड़ना चाहता हूँ, दौड़ना चाहता हूँ, गिरना भी चाहता हूँ… बस रुकना नहीं चाहता।” पेमानको जिन्दगी पनि ठ्याक्कै यही डाइलग जस्तै छ। उनी पनि घर-संसारको मोह त्यागेर निरन्तर कुदिरहन चाहन्छन्।

फिल्मको पहिलो हाफमा बन्नीको जीवनमा ‘नैना’ (दीपिका पादुकोण) आउँछिन्। नैना शान्त, पारिवारिक र स्थिरता मन पराउने स्वभावकी हुन्छिन्। बन्नी र नैनाबीच गहिरो माया त हुन्छ, तर बन्नी आफ्नो यात्राको सपना छोड्न सक्दैनन् र नैना आफ्नो घर-परिवार छोडेर फिरन्ते बन्न सक्दिनन्। पेमान र माटिल्डाको कथा पनि यही हो। माटिल्डा नैना जस्तै शान्त थिइन्। उनीहरूबीच माया हुँदाहुँदै पनि जीवनको फरक लक्ष्य (स्थिरता भर्सेज यात्रा) का कारण उनीहरू अलग हुनुपर्‍यो, जुन फिल्मको बन्नी र नैनाको सुरुवाती बिछोड जस्तै हो।

फिल्ममा त बन्नी अन्त्यमा नैनाका लागि रोकिन्छन्, तर यदि वास्तविक जीवनमा जस्तै बन्नी नरोकिएर अगाडि बढेको भए उनले सैलर जस्तै कोही केटी भेट्ने थिए होलान । सैलर यस्ती पात्र हुन्, जो बन्नीसँगै मरुभूमिमा कुद्न र हिउँमा स्कीइङ गर्न तयार छिन्।


एउटै मान्छे दुई जनासँग उत्तिकै इमानदार कसरी?

अब मूल प्रश्नमा आऊँ - ( दुनियाँ सामु ) के एउटै मान्छे दुई जनासँग उत्तिकै इमानदार हुन सक्छ?

यहाँ निर भन्न पर्ने हुन्छ - यदि उसले समयको मर्यादा र सम्बन्धको सीमा बुझेको छ भने। पेमानले माटिल्डा र सैलर दुवैलाई आ-आफ्नो समयमा आफ्नो जीवनको शतप्रतिशत माया र बफादारिता दिए।

  • जब उनी माटिल्डासँग थिए, उनी माटिल्डाकै मात्र थिए। उनले माटिल्डाको दुःखमा साथ दिए, उनको स्वास्थ्यको ख्याल राखे।

  • जब त्यो सम्बन्ध आपसी सहमतिमा सकियो, तब मात्र उनले सैलरलाई आफ्नो जीवनमा भित्र्याए। आज उनी सैलरप्रति उत्तिकै समर्पित र बफादार छन्।

हाम्रो नेपाली दृष्टिकोणबाट हेर्ने हो भने पनि, पेमानलाई कुनै ‘धोकेबाज पुरुष’ को रूपमा हेर्न मिल्दैन। उनी एक स्पष्ट वक्ता र आफ्नो उद्देश्यमा अडिग रहने एक आधुनिक ‘फिरन्ते साधु’ जस्ता छन। माटिल्डा उनको जीवनको एउटा सुन्दर चौतारी थिइन्, जहाँ उनले केही समय शितल श्वास फेरे। सैलर उनको यात्रालाई गन्तव्यसम्म पुर्‍याउने दह्रो खम्बा बनेर आएकी छिन्