लोकप्रियताको उचाइ र संसद'सँगको दूरीबीच बालेन
पछिल्लो राजनैतिक घटनाक्रममा बालेनले फेरि धेरैलाई अचम्मित पारेका छन् । अचम्म यस अर्थमा कि उनले यसरी प्रस्तुत होलान् भन्ने धेरैले अनुमान गरेका थिएनन् । तर त्यसो भन्दैमा मानिसहरूले उनीबाट के अपेक्षा गरेका थिए भन्ने प्रश्न चाहिँ त्यति सरल छैन । किनभने यो पूरा हप्ता सामाजिक सञ्जालमा मूलतः यही बहस चलिरह्यो– बालेनले किन यसो गरे ? उनले के गर्नुपर्थ्यो ? र आखिर उनीबाट अपेक्षित व्यवहार के थियो ?
धेरैलाई उनको संसद् नजाने हठ मन परेन । कतिपयले त्यसलाई अहंकार भने, कतिले अपरिपक्वता । तर एउटा लेखकलाई भने त्यो ठीक लागेछ । तर उनको दुर्भाग्य, सामाजिक सञ्जाल खर्लप्पै उनिमाथी खनियो । एउटा ठाउँमा उनले लेखेका छन्- “नेपालको सार्वजनिक विमर्शको ठूलो ठाउँ ओगट्नेहरू अहिले पनि वामपन्थी झुकाबका नै छन् । उनीहरूमध्ये धेरैले विगतका वर्षहरूमा ओलीको आलोचना गरे, प्रचण्डको पनि गरे । कम्युनिस्ट नेता र दलका विभिन्न पक्षहरूको आलोचना गरे पनि उनीहरूले संसार बुझ्ने ऐना अहिले पनि शास्त्रीय मार्क्सवाद नै हो । वालेन्द्र शाह र रास्वपका पक्षमा आएको चुनावी सुनामीले सबैभन्दा बढी आहत राजनीतिक संगठनबाहिरको यही तप्कालाई भएको छ ।”
सत्तामा पुगेपछि बालेनको व्यवहार अलि बढी ‘डाउन टु अर्थ’ भइदिएको भए विष्णु सापकोटाले लेखेका ती शब्दहरू सच्याउनुपर्ने खासै आवश्यकता (मचाहिँ) देख्दिनथेँ । किनकि नेपालको परम्परागत बौद्धिक वृत्तलाई बुझ्न एउटा कुरा पहिला बुझ्नुपर्छ , जसको राजनीतिक चेतना विपीको समाजवाद, पुष्पलालको कम्युनिज्म वा शास्त्रीय वामपन्थी जार्गन पढेर बनेको छ, उनीहरूका लागि अन्ततः राजनीतिको ‘लेजिटिमेट’ संसार भनेकै कांग्रेस र कम्युनिस्टको घेराभित्रको संसार हो । नयाँ पात्र आउन सक्छ, नयाँ भाष्य उठ्न सक्छ, तर राज्य चलाउने वैधानिक हैसियत उसलाई दिन उनीहरूको अन्तस्करण तयार हुँदैन ।
त्यसैले रास्वपाको उदयलाई उनीहरूले चुनावी दुर्घटनाजस्तो त स्वीकारे, तर त्यसलाई स्थायी राजनीतिक यथार्थका रूपमा स्वीकार्न सकेनन् । समस्या त्यहींबाट सुरु भयो । भदौपछि सुसुप्त अवस्थामा रहेको ‘बालेन फोबिया’ लाई पछिल्ला केही व्यवहारहरूले फेरि मलजल गरिदियो ।
“जो आए पनि हामीलाई के” भन्ने मानसिकतामा रहेका, कुनै पनि राजनीतिक दलको सदस्यता नलिएका धेरै सर्वसाधारणलाई समेत चित्त नबुझेको कुरा के हो भने दुई–दुई पटक आफ्नै पार्टिका सभामुखलाई भेट्न जाँदा पनि बालेन संसद् टेक्दैनन् भने त्यो केवल शैलीको प्रश्न मात्र रहँदैन । त्यसले संस्थाप्रतिको उनको दृष्टिकोण पनि देखाउन थाल्छ । उनले बिर्सन खोजेको कुरा के हो भने, प्रधानमन्त्री हुनुभन्दा पहिले उनी जनताको मतबाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीको कुर्सी त्यसपछि आएको दोस्रो तहको वैधानिकता मात्र हो । त्यो पद पनि पार्टीका सांसदहरूले उनलाई संसदीय दलको नेता मानेपछि प्राप्त भएको हो । लोकतन्त्रमा जनादेशलाई व्यक्तिगत “करिश्मा”को परिणाम मात्र ठान्ने भूल कसैले पनि गर्नु हुँदैन । यो संस्थागत प्रक्रियाबाट आएको अन्तिम परिणाम हो ।
दुई तिहाइको बहुमत छ भन्दैमा प्रधानमन्त्री संसद भन्दा माथि हुँदैन । राजनीति यति निर्दयी खेल हो कि जुन दिन आफ्नै सांसदहरूले विकल्पबारे छलफल सुरु गर्छन्, त्यस दिनदेखि शक्तिशाली देखिने प्रधानमन्त्रीहरू पनि अचानक असुरक्षित बन्न थाल्छन् । नेपालको संसदीय इतिहास त्यस्ता उदाहरणहरूले भरिएको छ । बिदेसमै पनि पाकिस्तानी प्रधानमन्त्री ईमरान खानको उदय र पतनको घटनाक्रम सम्झीन सकिन्छ ।
हामीले आफ्नै आँखाले देखेका छौं जनता जागेका बेला उ बेलाका मैमत्त केपी ओली अन्ततः हेलिकोप्टर चढेर बालुवाटारबाट बाहिरिनुपरेको थियो । शक्ति स्थायी हुँदैन भन्ने कुरा नेपाली राजनीतिले पटक–पटक प्रमाणित गरिसकेको छ । बालेनले हेक्का राख्नुपर्ने कुरा के हो भने संसद्प्रति उनले पछिल्लो समय देखाएको दूरी वा बेवास्ता जस्तो व्यवहार ओली, देउवा वा प्रचण्डमध्ये कसैले पनि खुलेर देखाएका थिएनन् । उनीहरूको आलोचना हजार हुन सक्छन्, तर संसद् भन्ने संस्थासँग प्रत्यक्ष टकरावको मनोविज्ञान उनीहरूले कम्तीमा सार्वजनिक रूपमा निर्माण गरेका थिएनन् ।
आजको दिनमा बालेनले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यो अन्तिम चुनाव होइन । अहिलेको लोकप्रियता स्थायी जनमत होइन, एउटा अवसर हो । जनताले उनलाई पुराना दलप्रतिको निराशाको विकल्पका रूपमा उचालेका हुन्, राजनीतिको अन्तिम सत्यका रूपमा होइन ।
उनको यही रवैया निरन्तर रहिरह्यो भने आज उनको नाममा कांग्रेस–कम्युनिस्टलाई सराप्ने जनमतले भोलि उनकै बारेमा पनि हिजो प्रचण्डका बारेमा जस्तै सोच्न थाल्नेछ । नेपाली समाजको एउटा विशेषता के छ भने यहाँका मानिसहरू जति छिटो कसैमाथि भरोसा गर्छन्, त्यति नै छिटो मोहभंग पनि हुन्छ । हिजो सडकमा फोटो बोकेर हिंड्नेहरू नै केही वर्षपछि चियापसलमा बसेर “सब उस्तै हुन्” भन्न थाल्छन् । सम्झेर ल्याउने हो भने नेपालको राजनीतिक इतिहास मूलतः यस्तै चक्रहरूको इतिहास हो ।
त्यसैले अहिलेको जनलहर सधैंभरि बालेनको पक्षमा रहिरहन्छ भन्ने सोच्नु सबैभन्दा ठूलो राजनीतिक भूल हुन सक्छ । चुनाव जितेर आएको जननेता र संस्थामाथि नै वितृष्णा राख्ने राजनीतिक पात्रबीचको दूरी धेरै लामो हुँदैन । लोकप्रियताले केही समय संस्थागत कमजोरी ढाकिदिन सक्छ, तर अन्ततः लोकतन्त्रमा संस्थामाथिको विश्वास नै निर्णायक बन्छ ।
हुन त कांग्रेस–कम्युनिस्टका परम्परागत समर्थकहरू अहिले पनि बालेनप्रति आलोचनात्मक छन्, त्यो नयाँ कुरा भएन । विष्णु सापकोटाले भनेजस्तै, उनीहरूको ठूलो तप्का अझै पनि वैचारिक र मनोवैज्ञानिक रूपमा विक्षिप्त अवस्थामै छ । उनीहरूले नयाँ राजनीतिक यथार्थलाई स्वीकार्न सकेका छैनन् । तर अहिले समस्या त्यहाँ मात्र सीमित छैन । बालेनको संसद्प्रतिको रवैयाले विस्तारै यस्तो अवस्था बनाइरहेको छ कि संसद्मा हर्क साम्पाङले गरेको विरोध पनि “ठीकै हो कि” भन्ने ठाउँमा मानिसहरू पुग्न थालेका छन् । राजनीतिमा यो निकै खतरनाक संकेत हो ।
किनकि विरोधीले आलोचना गर्नु सामान्य कुरा हो, तर आफ्नै पक्षमा उभिएका मानिसहरूले चुपचाप दूरी बनाउन सुरु गर्नु चाहिँ राजनीतिक रूपमा धेरै गम्भीर संकेत हुन्छ । बालेनले समयमै यो सूक्ष्म परिवर्तन पढ्न सकेनन् भने आज जुन जनमतले उनलाई असाधारण उचाइमा पुर्याएको छ, त्यही जनमत भोलि सबैभन्दा निर्मम निर्णायक पनि बन्न सक्छ । पाँच वर्ष पछी चुनाव फेरी आउछ । त्यो भन्दा पहिले त स्थानिय निर्वाचन आउछ ।