के बालेन गँजडी हुन ?
लु, साकार र भिटेनलाई उदाहरण दिएर, 'र्यापर बालेनले पनि गाँजा खान्थे' भन्ने कल्पना गरौँ। यसले तपाईँको विश्वासलाई दरो बनायो होला, ठिकै छ। तपाईँ यो विश्वासमा अडिग हुनुहोस् है; अब म मेरा केही कुरा राख्न चाहन्छु।
मलाई लाग्दैन कि हामीमध्ये कोही पनि किशोरावस्था वा युवावस्थामा सामाजिक रूपमा वर्जित मानिएका कामको अनुभव नभएको होला। युवावस्था भनेकै प्रयोग, गल्ती र सिकाइको उमेर हो। मान्छे समयक्रममा उमेर, जिम्मेवारी र अनुभवसँगै बदलिँदै जान्छ।
जस्तै, म मेरै कुरा गर्छु। ट्याब्लेटको अनुभव त भएन, तर गाँजा, चुरोट र रक्सी सबथोक अनुभव गरियो । उमेरको त्यो चरणमा अनेकौँ त्यस्ता कामहरू गरियो, जुन अहिले फर्किएर हेर्दा ‘मैले त्यस्तो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्छ। तर ती सबै कुरा उमेरका हिसाबले सामान्य भोगाइ मात्र थिए। म आफूलाई एउटा औसत मान्छे ठान्छु। मान्छेहरूले मलाई त्यसरी नै ग्रहण गर्छन्।
यदि म जस्ता औसत मान्छेहरू युवावस्थाको त्यही अनुभवका आधारमा ‘गँजडी’ वा ‘ट्यापे’ भइँदैनन् भने, बालेन कसरी ‘ट्यापे’ वा ‘गँजडी’ भए?
मेयर हुनुभन्दा अगाडि उनी पनि हामी जस्तै एउटा औसत नेपाली थिए। ४–५ वर्षअगाडि अन्य औसत नेपाली युवाझैँ उनी पनि एउटा सामान्य युवा थिए, जसले आफ्नो रुचि अनुसार खानपिन गर्थे। उनले पनि कैयौँ युवाहरूले जस्तै रक्सी वा गाँजा खाए होला। मैले माथि नै भनेँ नि मैले पनि खाएकै हो। तपाईँको कुरा तपाईँलाई नै थाहा होला, मलाई थाहा भएन। तपाईँ-हामीले त्यही काम गर्दा त्यसरी (स्व)मूल्याङ्कन भएन। अनि त्यो अवस्था पार गरेर, जिन्दगीको मध्याह्नमा एउटा जिम्मेवार पदमा बसिसकेको मान्छेलाई हिजो गाँजा खान्थ्यो भन्दैमा आज कसरी ‘गँजडी’ भन्न मिल्छ?
गाँजा खान्थे / खान्छन भन्ने तथ्य भन्दा पनि हामीले शंकाको सुबिधा (benifit of doubt) मात्र लिएको न हो । के उनले जिम्मेवार पदमा बसेर गाँजा खाएका छन् ? गाँजाको तालमा तल-माथि केही गरेका छन्? सुराकीहरूले उनलाई गाँजा खाएर लट्ठ परेको अवस्थामा भेटेका छन् र? फोटो , भिडियो केही प्रमाण छ ?
यदि सार्वजनिक पदमा बसेर कसैले आफ्नो कर्तव्य भुल्छ वा अम्मलका कारण काम बिगार्छ भने आलोचना हुनु स्वाभाविक हो। तर कुनै सार्वजनिक प्रमाणबिना, केवल विगतको अनुमानका आधारमा कसैको चरित्रमाथि औँला उठाउनु कत्ति पनि जायज कुरा हैन ।
अब हाम्रा अरु स्थापित राजनीतिज्ञहरूको कुरा गरौँ।
के गगन थापाले रक्सी खाँदैनन् होला ? त्यसरी चुरोट तान्ने शेरबहादुर देउवाले गाँजा कहिल्यै खाएनन् होला? केपी ओलीको मिर्गौला (किड्नी) बिग्रनुअघिसम्म त उनी पनि मस्त रक्सी खान्थे भनिन्छ! कृष्णप्रसाद भट्टराईसँग बसेर रक्सी खानेहरूले त उनको महिमा वर्णन गर्दै किताब नै लेखिसके। तिनीहरूलाई तिनीहरूको अम्मलका आधारमा उपनाम दिएनौ भने, बालेनले कुनै बेला गाँजा खाएकै भए पनि अहिले केका आधारमा ‘गँजडी’ भए? हाम्रा नेताहरूले आफ्नो युवावस्थामा के-के गरे होलान्, त्यो कसैलाई थाहा छैन; तर उनीहरूलाई कहिल्यै उनीहरूको अम्मलबाट चिनिएन। बालेनको हकमा मात्र यो नियम किन लागू हुन्छ?
जिन्दगीमा बालेनको जत्तिकै औसत अनुभव बटुलेका हामीहरू चाहिँ तिनै अम्मलका कारण आफ्नो उपनाम किन राख्दैनौँ वा अन्य परिचितलाई किन त्यसरी पुकार्दैनौँ? हामी आफूलाई समाजमा ‘सामान्य’ र ‘भद्र’ नागरिक नै मान्छौँ। अनि बालेनका हकमा चाहिँ विगतको एउटा पाटोलाई ल्याएर सिङ्गो व्यक्तित्व नै धमिल्याउन खोज्नु कुन सिद्धान्त हो? सार्वजनिक व्यक्तिको कामको गुण र दोषका आधारमा सबैले आफ्नो विवेक प्रयोग गरी मूल्याङ्कन गर्नु सामान्य कुरा हो; तर, त्यो धारणा कुण्ठाबाट ग्रसित (पूर्वाग्रहपूर्ण) भने हुनु हुँदैन।
कुरा सोझो छ। जब मान्छेसँग तर्क, तथ्य र कामको आलोचना गर्ने ठाउँ बाँकी रहँदैन, तब उनीहरू चरित्र हत्यामा उत्रिन्छन्। हिजोको सामान्य प्रयोग वा साङ्गीतिक जीवनको शैलीलाई समातेर कसैलाई जीवनभर ‘ट्याग’ भिराइराख्नु सस्तो पूर्वाग्रह मात्र हो।
एउटा परिपक्व समाजले व्यक्तिगत विगत र सार्वजनिक कार्यसम्पादनबीचको फरक छुट्ट्याउन सक्नुपर्छ। जबसम्म कसैको व्यक्तिगत विगतले उसको वर्तमान जिम्मेवारी र सार्वजनिक कर्तव्यलाई असर गर्दैन, तबसम्म त्यसलाई मुद्दा बनाउनु केवल राजनीतिक प्रतिशोध र वैचारिक दरिद्रता बाहेक केही होइन।