अविचार

रक्सी माहात्म्य

August 2, 2026 · समाज
रक्सी माहात्म्य

मलाई रक्सी खानु भनेको अप्ठ्यारो बाटोमा गाडी चलाउनुजस्तै लाग्छ। गाडी चलाउनु आफैँमा गलत हुँदै होइन। उकालो, ओराली, घुमाउरो वा कच्ची बाटो पनि आफैँमा समस्या होइनन्। तर कुन मोडमा कतिखेर ब्रेक लगाउने भन्ने निर्णय चालकले गर्न सक्नुपर्छ। गाडीले चालकलाई होइन, चालकले गाडी (ब्रेक) लाई नियन्त्रण गर्न सक्ने अवस्थामा हुनुपर्छ जस्तो लाग्छ।

रक्सी पनि त्यस्तै हो। आज खाने कि नखाने भन्ने निर्णय पिउने मान्छेको हुनुपर्छ। तर जुन दिन शरीरले “आज पनि चाहिन्छ” भन्न थाल्छ, त्यस दिनदेखि चालकको सिटमा तपाईं हुनुहुन्न। तपाईंको ज्यानको स्टेयरिङ रक्सीले समातिसक्यो भन्दा हुन्छ।

मेरो मान्यता के हो भने नि ‘ज्यानले रक्सी माग्न’ थालेपछि खाँदा आउने नशा (मज्जा) आनन्द होइन, भ्रम हो। तपाईंलाई लाग्छ, तपाईंले रक्सी खाइरहनुभएको छ। वास्तविकता भने उल्टो हुन्छ, बिस्तारै रक्सीले तपाईंलाई खान थालेको हुन्छ।

मलाई कसैले “के रक्सी खानु नराम्रो हो र?” भनेर सोध्यो भने मेरो उत्तर सधैँ एउटै हुन्छ, “होइन, यदि कुनै रोग-व्याधिले चेपेको छैन , खान मन लागी रहेको छ , भने एकबारको जुनीमा के नखरा पार्नुहुन्छ ? मज्जाले खानुस्। तर तपाईंको रक्सी खाने बानीलाई ज्यानले पत्याउन छोडेको छ वा रक्सीका लागि जस्तोसुकै स्वाद र सङ्गतसँग सम्झौता गर्न थाल्नुभएको छ भने विचार गरेर खानुस्; म त भन्छु, नखानुस्।”

मलाई के लाग्छ भने यदि रक्सी खाने अम्मल (बानी) परिसकेको छैन भने कुन रक्सी खाने, कोसँग खाने र कतिखेर खाने भन्ने कुरामा पिउने मान्छे एकदमै अनुशाशित हुनुपर्छ।

मेरो आशय सधैँ विदेशी ब्रान्डेड रक्सी नै खानुपर्छ भन्ने होइन। कोदोको लोकल रक्सी खानु नराम्रो वा अन्यथा केही होइन। तर जसको साथमा बसेर खाँदा असहज महसुस हुन्छ, त्यस्ता मन नपर्ने मान्छेले खुवाउँदैमा, कसैले "खाइदिऊँ न त" भनेकै भरमा वा भोलिपल्ट बिहान पछुतो हुने गरी पिउनु पटक्कै गतिलो कुरा होइन।

म आफ्नै पैसाले कहिल्यै खान्नँ भन्ने मान्छेहरू त झन मलाई “सस्ता र बिकाउ” लाग्छन्। तिनीहरूको सोच रक्सीको स्वादमा भन्दा पनि “भोलि कसले खुवाउला-नखुवाउला, आजै टन्न खानुपर्छ” भन्ने नियतमा अडिएको हुन्छ भन्ने मेरो ठम्याइ हो। रक्सी खानु कुनै बाध्यता वा अनिवार्यता नभई आफ्नै रोजाइ हो भने त्यसमा लगानी गर्न नसक्ने जँड्याहाहरू आर्थिक रूपमा भन्दा पनि मानसिक रूपमा दरिद्र हुन् जस्तो मलाई लाग्छ।

किनभने रक्सीको सबैभन्दा ठूलो परीक्षा पहिलो पेग होइन, अन्तिम पेग हो।

मलाई रमाइलो त आफूलाई पारखी भन्ने साथीहरूलाई देख्दा लाग्छ। महँगो ह्विस्की किन्छन्, त्यसमा कोक हाल्छन्, बरफ थप्छन् अनि फेरि पानी पनि मिसाउँछन्। अन्त्यमा ह्विस्कीको भन्दा कोकको स्वाद बढी आउँछ अनि गर्वका साथ फूर्ति लगाई रहेका हुन्छन , “आज त सिङ्गल माल्ट खाइयो!”

म कहिलेकाहीँ सोच्छु बीस वर्ष ओकको ब्यारेलमा बसेर परिपक्व भएको ह्विस्कीले यदि बोल्न सक्थ्यो भने सायद पहिलो गाली त्यही मान्छेलाई गर्थ्यो होला।

ब्रान्डेड खानुस् वा लोकल, त्यो तपाईंको हैसियत र रोजाइको कुरा हो। तर जे खानुहुन्छ, त्यसको स्वादलाई पनि एकपटक सम्मान गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । जस्तो कि

  • गिलास उठाउनासाथ गटागट ननिल्नुस्।

  • पहिले सुगन्ध लिनुस्; नाकले पनि स्वाद चिन्छ भन्ने कुरा महत्वपुर्ण छ ;-)

  • पहिलो सिपले जिब्रो भिजाउनुस्।

  • मुखको तालुमा केहीबेर बस्न दिनुस्, त्यसपछि निल्नुस्।

अनि पाँच मिनेटपछि आफैँलाई एउटा प्रश्न सोध्नुस्, मैले अहिले खाएको रक्सीको स्वाद कस्तो थियो?”

यदि त्यो प्रश्नको उत्तर दिन सक्नुहुन्न भने अर्को पेग हाल्नुअघि एकपटक सोच्नुस्त तपाईं स्वाद खोज्दै हुनुहुन्छ कि केवल नशा?

मलाई कहिलेकाहीँ अचम्म लाग्छ। जिन, भोड्का, ह्विस्की, रम, वाइन, टकिला सबैका नाम कण्ठ हुन्छन्। तर तिनको फरक के हो भनेर सोध्दा धेरैको उत्तर एउटै हुन्छ, “नशा फरक हुन्छ।”

होइन ! फरक नशामा भन्दा पहिले स्वादमा हुन्छ, सुगन्धमा हुन्छ, बनाउने तरिकामा हुन्छ र पिउने संस्कृतिमा हुन्छ।

टकिला किन सानो गिलासमा आउँछ? किन एकैचोटि पिइन्छ? वाइन किन हतार गरेर पिइँदैन? ह्विस्की किन सानो-सानो सिपमा पिइन्छ? यी प्रश्नको उत्तर खोज्ने मानिस पारखी बन्न थाल्छ, केवल महँगो बोतल किन्ने मानिस होइन।

हेर्नुस म उस्तो रक्सी खाने मान्छे हैन वा भनौ म रक्सीको पारखी त हुदैन हैन । कुनै बेला संगतले खाईयो । त्यहीक्रममा कसरि खाने भन्ने पारखीहरुको कुरा सुनियो । युट्युबमा भिडियोहरु हेरीयो । खाएकै बेला त्यसैको बारेमा मस्त गफ पनि गरीयो ।

आजभोली मेरो मान्यता के हो भने रक्सी छोड्न सक्नुहुन्छ भने त्यो सबैभन्दा राम्रो कुरा हो। तर छोड्न सक्नुहुन्न भने कम्तीमा रक्सीलाई औषधि नबनाउनुस्। स्वाद मारेर पानीले डुबाउने, कोकले छोप्ने वा एकै सासमा निल्ने बानी बदल्नुस्।

किनभने तपाईंले रक्सीको स्वाद बिर्सिनुभएको दिनदेखि रक्सीले पनि तपाईंलाई सम्झन छोड्छ। त्यसपछि बोतलमा ‘ओल्ड दरबार’ लेखियोस् वा कुनै नामै नलेखियोस्, तपाईंका लागि सबैको अर्थ एउटै हुन्छ।

त्यो बेला तपाईं रक्सीको पारखी हुनुहुन्न । केवल रक्सीको नियमित ग्राहक हुनुहुन्छ।