अविचार

भण्डाफोरको नाममा पेलपाल: पत्रकारिता कि 'भ्यूज'को धन्दा?

October 23, 2026 · युट्युब

मेरो टाइमलाइनमा अचानक क्यामेरा तेर्स्याएर तिखा प्रश्नहरू सोधिरहेका एक युवक देखा परे। के रहेछ भनेर हेर्न थालेपछि त्यसको कन्टेन्टमा चाख बढ्यो। पुरै हेरेँ। पुरा भिडियो हेरिसकेपछि चाँही वास्तवमा ठीक कुरा के हो भनेर खुट्याउन गाह्रो भयो। यदि च्यानल वा भ्लगरको बारेमा पहिले नै अलिअलि जानकारी भएको भए सम्भवतः एउटा आइडिया हुन्थ्यो होला। उनी मेरो लागि एउटा र्‍यान्डम  भ्लगर थिए।

त्यसैले मैले उनको बारेमा गुगलमा सोधखोज गर्न थालेँ। उनी निक शेर्ली (Nick Shirley) नाम गरेका पुराना भ्लगर रहेछन्। विकिपिडियामा उनलाई चर्चित दक्षिणपन्थी कन्जर्भेटिभ युट्युबर र स्वतन्त्र पत्रकार (Citizen Journalist) उल्लेख गरिएको छ। २४ वर्षीय शेर्लीले करियरको सुरुवात प्र्याङ्क र ठट्टा गर्ने भ्लगरको रूपमा काम सुरु गरेका रहेछन्। पछि राजनीतिक र सामाजिक विषयमा भिडियो बनाउन थालेका उनलाई हालै ट्रम्प प्रशासनले सरकारी ठगी उजागर गरेको भन्दै १०,००० डलरको पुरस्कार र "सिटिजन जर्नलिस्ट अफ द इयर" को सम्मान समेत दिएको रहेछ। यो समाचार बिभिन्न अनलाईनहरुले लेखेका छन ।

शेर्लीको काम गराइलाई सजिलो गरी बुझ्ने हो भने नेपाली युट्युबर/पत्रकार दिवाकर शाह, अपिल त्रिपाठी र उहिलेका पत्रकार रवि लामिछानेको नाम लिँदा हुन्छ। क्यामेरा र माइक बोकेर सिधै 'अन द स्पट' पुग्ने, मानिसहरूलाई अचानक घेर्ने र आक्रामक रूपमा प्रश्न सोधेर भिडियो बनाउने गर्थे नि, ठ्याक्कै त्यस्तो नभए पनि सारमा निक शेर्लीको पृष्ठभूमि र शैली उस्तै रहेछ।

बाहिरबाट हेर्दा यस्ता पत्रकार वा भ्लगरहरूले "गलत कामको भण्डाफोर गरेको" वा "सत्य उजागर गरेको" जस्तो देखीन सक्छ ।  सर्वसाधारणले ताली पनि बजाउँछन्। तर, यसको अर्को एउटा अँध्यारो र व्यावसायिक स्वार्थको पाटो पनि छ। यस्ता भिडियोहरूको मुख्य उद्देश्य कतिपय अवस्थामा समाज सुधारभन्दा पनि "सनसनीखेज कन्टेन्ट" बनाएर भ्युज, फलोअर्स र पपुलारिटी कमाउनु हुन्छ। क्यामेराको आडमा कसैको व्यक्तिगत स्वतन्त्रता, गोपनीयता  र मानहानि भइरहेको छ कि छैन भन्ने कुरामा यस्ता सनसनीखेज भिडियो बनाउनेहरू प्रायः मौन रहन्छन्।

यिनै निक शेर्ली जब न्यु योर्कको चाइनाटाउनमा  सामान बेचिरहेका आप्रवासीहरूको भिडियो खिच्न पुगे, तब सडकमा कानुनी बहस मात्र भएन, व्यक्तिगत स्वतन्त्रताको पनि विषय उठ्यो।

दुवै पक्षको कुरा सुन्दा लाग्छ, यहाँ कोही पनि पूर्ण रूपमा सही वा गलत छैनन्।

महिलाको भनाइ: "हामी पनि मान्छे हौँ, हाम्रो पनि आत्मसम्मान छ!"

सडकमा व्यापार गर्ने ती महिलाको आक्रोश र तर्कलाई हामी यसरी बुझ्न सक्छौँ: "यो देश तिम्रो मात्र होइन, हाम्रा पुर्खाहरूले पनि रगत-पसिना बगाएर यो देश बनाएका हुन् । हामी यहाँ बस्न र दुई छाक टार्नका लागि काम गर्न हकदार छौँ । तिमी सधैँ हामीजस्ता आप्रवासी वा (तिमी भन्दा) फरक रङका मानिसहरूलाई मात्र किन निशाना बनाउँछौ ? गोराहरू बस्ने ठाउँमा गएर यस्तो प्रश्न गर्ने आँट छ ? म कर तिर्छु कि तिर्दिनँ, त्यो मेरो व्यक्तिगत कुरा हो, तिमीलाई जवाफ दिन म बाध्य छैन। हामीले जे-जसो गरेर कमाए पनि कम्तीमा मिहिनेत त गरिरहेका छौँ । मान्छे भएर मान्छेको सम्मान गर्न सिक।"

ती महिलाको पुरा परिचय भिडियोमा त छैन, मैले गुगल गर्दा पनि उनको बारेमा खासै जानकारी पाउन सकिँन। त्यसैले उनी कर तिर्छिन् कि तिर्दिनन्, उनी सही छिन् कि गलत भन्न गाह्रो छ, तर शेर्लीको भिडियोको कमेन्टमा सबैले महिलालाई नै गलत भनेका छन्। आप्रवासीहरूमाथि नकारात्मक टिप्पणी गरिएको छ। मेरो बुझाइमा यो धेरै नै गहिरो बहसको विषय हो। मुख्य कुरा, महिलाले उठाएझैँ जोकसैले 'तिमी बसेको देशमा कर तिर्छौ कि तिर्दैनौ' भनेर सोध्न मिल्दैन। यद्यपि अर्की महिला कर तिर्ने कुरालाई 'एस' र 'नो' मा उत्तर दिँदा फरक नपर्ने बताउँछिन्। मलाई चाँही ती दुवै महिलाको कुरा ठीक लागेको हो, तर विषयवस्तुको कन्टेक्स्टमै असहमती छ भने कसैले त्यसको सही उत्तर दिनैपर्छ भन्ने पनि लाग्दैन।

सारांशमा निक शेर्ली (भ्लगर) को भनाइ: "नियम र कानुन सबैको लागि बराबर हुनुपर्छ!"

क्यामेरा बोकेर प्रश्न गर्ने निक र उनका समर्थकहरूको तर्क यस्तो छ: "म्याम, रिस नउठाउनुस्। यो सार्वजनिक सडक हो र यहाँ भिडियो खिच्ने मेरो कानुनी अधिकार छ । हामी त केवल यो सहरमा भइरहेको गलत काम देखाइरहेका छौँ । यदि तपाईंहरूले यहाँ बस्ने अधिकार पाउनुभएको छ भने, यहाँको नियम र कानुन पनि त मान्नुपर्छ नि ! कर नतिरी, सडकमै गैरकानुनी रूपमा नक्कली सामान बेच्नु त ठगी हो । तपाईंहरू आफ्नो देश छोडेर यहाँ आउनुहुन्छ , तर यहाँ आएर पनि नियम मिच्ने र फोहोर गर्ने पुरानै बानी दोहोर्‍याउनुहुन्छ भने यो सहर कसरी चल्छ ? नियम त सबैका लागि एउटै हुनुपर्छ ।"

निकको कानुनी कुरा ठीक सुनिए पनि, गरिबी र बाध्यताका कारण सडकमा सामान बेचिरहेका मानिसहरूलाई अचानक क्यामेरा तेर्स्याएर 'सहमति' बिना केरकार गर्नु  र आप्रवासीहरूलाई मात्रै लक्षित गरेर सामाजिक सञ्जालमा भिडियो हाल्नु मानवीय दृष्टिकोणबाट अलि पूर्वाग्रही र अहङ्कारी देखिन्छ ।

शेर्लीको कुरा ठीकै भए पनि ती महिलाले नक्कली सामान बेची नै रहेकी थिइन् भन्ने पुष्टि भने गरिएको छैन। त्यस हिसाबले हेर्दा उनले छालको (छालाको) रङ हेरेर आरोप मात्र लगाए भन्न सकिन्छ।