तिलस्मी आर्थिक छलाङ्गको कथा र वास्तविकता
मैले सब्सक्राईब गरेका युट्युब च्यानलको लिष्ट लामो छ । तर एकै दिन वा एकै सिटिङमा सबै च्यानल हेर्न सकिन्न । भन्नाले च्यानलको जनरा बहुत डाईभर्स छ । प्रोग्रामिङ्ग गर्ने कालो स्क्रिन देखि बाईकर बैभकको साईकलिङ्ग हेर्न मुड एकै दिन हुदैन । त्यसैमध्ये कर्ली टेल्स भन्ने च्यानल पनि एक हो । म यो च्यानल सधैँ हेर्दिन । मुड चलेको बेला हेर्दा यो च्यानलको कन्टेन्ट मलाई रमाइलो लाग्छ । पछिल्लो पटक मैले यसमा भारतमा खुल्न लागेको “शंख एयर” को मालिकको अन्तर्वार्ता हेरेको थिएँ । सुरुदेखि अन्त्यसम्म पुरै हेरेँ ।
यद्दपी मलाई उनको त्यो ‘छलाङ्ग’ मन परेर हेरेको हैन । मलाई यस्तो तिलस्मी छलाङ्गमा विश्वास पनि छैन । एउटा टेम्पु चालक १५ वर्षको समयमा साढे आठ सय करोड पर्ने ३ वटा हवाई जहाजको मालिक बन्छ वा बन्न सक्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन ।
यदि तपाईलाई मान्छेले मेहनत गर्यो भने यस्तो सम्भव छ भन्ने लाग्छ भने म तपाईको विचारको सम्मान गर्छु । तर मेरो तर्क र विश्वास फरक छ । यस्ता तिलस्मी छलाङ्गको पछाडि केही न केही “लोचा” हुन्छ भन्ने म विश्वास गर्छु ।
किनकि वास्तविक दुनियाँ मोटिभेसनल डकुमेन्ट्री जस्तो चल्दैन । एउटा सामान्य ट्रान्सपोर्टको व्यवसायबाट एयरलाईन्स लेभलको पुँजी निर्माण गर्न असाधारण क्यास फ्लो, पोलिटिकल पहुँच, बैकको विश्वास, लगानीकर्ताहरुको नेटवर्क र फाइनान्सियल स्ट्रक्चर चाहिन्छ जस्तो लाग्छ । त्यो पनि भारत जस्तो देशमा, जहाँ रेगुलेटरी अप्रुभल, ट्याक्स सिस्टम त्यस्तै एभिएसन इन्डस्ट्रि अत्यन्त महँगो र कन्ट्रोल सेक्टर हो ।
जहाज लिजमा होलान्, कम्पनीको मूल्य बढाइचढाइ गरिएको होला, इन्भेष्टरको पैसा होला वा बैकको लोन होला । तर जे भए पनि “एक्लो मेहनत” को कथा जति सरल सुनाइन्छ, ग्राउन्ड रियालिटी त्यति सरल देखिँदैन ।
मलाई सबैभन्दा बढी शंका लाग्ने कुरा ग्रोथको गति हो । १५ वर्षमा यस्तो स्तरको सम्पत्ति बनाउन पैसा असाधारण गतिमा बढिरहनुपर्छ । सुरुमा लाखमा भएको पैसा करोडमा, करोडबाट सय करोडमा पुग्नुपर्छ, त्यो पनि लगातार । सामान्य व्यापारमा यस्तो ग्रोथ रेयर मात्र होइन, अल्मोस्ट एबनर्मल स्तरको हो भन्ने मलाई लाग्छ ।
अब तपाई मेरो कुरामा “जहाज कम्पनी साच्चै नै खुल्दैछ, कसरी खुल्दैछ त ?” भनेर सोध्न चाहनुहुन्छ भने मेरो शंका पर्दा पछाडिबाट व्यापार व्यवसायमा लगानी गर्ने राजनीतिज्ञ, ठूला व्यापारी समूह वा अपराधिक कर्मबाट पैसा कमाउने माफियातिर जान्छ ।
माथिको कुरा भारतको भयो । त्यसैले अहिलेका लागि त्यहीँ बिट मारौँ । हाम्रो नेपालमै पनि धेरै उदाहरण छन् । उदाहरणका लागि, मेडिकल व्यवसायी सुनिल शर्मा एमबिबिएस पढ्ने बिथ्यार्थी चाईना पठाउथे । त्यही बाट उनले पैसा कमाउन शुरु गरेका हुन । मेडिकल कलेजलाई “सम्बन्धन दिलाइदिए” बापत उनले कलेजमा पाँच प्रतिशत सेयर पाउने गरी नोबेल मेडिकल कलेजमा प्रवेश गरेका थिए । पछि राजनैतिक शक्तीको आडमा संस्थापक शेयरधनीहरुलाई नै हटाएर नोबेल मेडिकल कलेज हत्याए । यस बारेमा नागरिक न्युजमा समाचार छ । समाचारमा उल्लेख भएअनुसार शर्मालाई काँग्रेस नेता शेखर कोइराला र माओवादी नेता वर्षमान पुनको दरिलो साथ थियो ।
दुर्गा प्रसाईँ सामान्य परिवारबाट आएका व्यक्ति थिए । उनीमाथि द्वन्द्वकालमा आफ्ना ससुरालीविरुद्ध माओवादी शक्ति प्रयोग गरेको आरोप लाग्ने गर्छ । माओवादी दबाबका कारण उनका ससुरा छोरीलाई जग्गा भाग लगाउन तयार भएका थिए भन्ने चर्चा पनि हुने गरेको छ । अदालतबाट हुन नसकेको काम प्रसाईँले राजनीतिक र सशस्त्र प्रभावमार्फत गराएको आरोप लाग्छ । त्यसपछि उनको आर्थिक र राजनीतिक प्रभाव तीव्र रूपमा बढ्दै गएको देखिन्छ । ओली र प्रचण्डलाई एउटै टेबलमा राखेर मार्सी चामलको भात खुवाएको घटनापछि उनी झन् चर्चामा आए । राजनीतिक पहुँच, बैंकिङ सम्बन्ध र शक्ति केन्द्रसँगको निकटताका कारण उनले बैंकबाट ठूलो मात्रामा ऋण पाएको चर्चा पनि हुने गरेको छ । विभिन्न सार्वजनिक रिपोर्टअनुसार उनीमाथि अहिले पनि अर्बौँ रुपैयाँ बैंक ऋण रहेको बताइन्छ । उनी अहिले ऋण चुक्ता गर्नुभन्दा पनि राजनीतिक प्रभाव कायम राख्ने दिशातिर बढी सक्रिय देखिन्छन् ।
सानो किराना पसल बाट ब्यबशाय गरेका मिन बहादुर गुरुङ्ग अहिल दुई दर्जन भन्दा बढि सुपरमार्केट छ । करोडैको त अस्पताल बनाई दिएका छन ।तर विभिन्न नक्कली कम्पनी खडा गरी वस्तु खरिद नै नगरी नक्कली भ्याट बिल प्रयोग गरेर कर छली गरेको अपराध अदालत बाट फैसला भै सकेको छ । उनको ओली सँगको राजनैतिक सम्बन्धको बारेमा खासै धेरै भनि रहन परेन ।
डडेल्धुराको साविक भद्रपुर गाविस–२ (हाल अजयमेरु गाउँपालिका) मा जन्मिएका दीपक भट्ट पछिल्लो डेढ दशकयता निरन्तर सत्ता र शक्तिका प्रिय पात्रका रूपमा चिनिँदै आएका छन् । भट्टमाथि विगतमा सत्तापक्ष, प्रतिपक्ष, संसद्को राज्य व्यवस्था समिति तथा सार्वजनिक लेखा समितिसम्म प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ । उनका कम्पनीहरूले जलविद्युत्, हतियार, हेलिकोप्टरलगायत क्षेत्रमा विदेशी कम्पनीका स्थानीय एजेन्ट बनेर सत्ता र शक्तिसँगको मिलेमतोमा काम गर्दै आएको चर्चा पनि व्यापक छ ।
माथिका केही उदाहरण मात्र हुन् । सोझो र सरल हिसाबले हेर्दा यस्ता तिलस्मी आर्थिक छलाङ्ग सहजै सम्भव देखिँदैनन् । उदाहरणका लागि नेपालमै मासिक २० हजार रुपैयाँ तलब खाने कर्मचारीले पनि कर तिर्नुपर्छ । मासिक २ लाख रुपैयाँ कमाउने दक्ष कर्मचारीले करिब ४५ हजार रुपैयाँ हाराहारी कर बुझाउनुपर्छ । त्यस्तै कुनै प्राइभेट कम्पनीले सबै खर्च कटाएर १ लाख रुपैयाँ खुद नाफा कमायो भने कम्तीमा २५ हजार रुपैयाँ कर्पोरेट ट्याक्स तिर्नुपर्छ । अर्थात् कर प्रणालीले कागजमा आम्दानीको हिसाब माग्छ र त्यसअनुसार राज्यलाई हिस्सा बुझाउनुपर्छ । यस्तो अवस्थामा सामान्य ब्यक्तीले गुणात्मक रुपले आर्थिक छलाङ्ग मार्न कतिको सम्भव छ ?
एउटा बैंकको प्रमुख कार्यकारी अधिकृतले तिर्ने कर बराबरको तलब हुने कुनै सरकारी कर्मचारीको शानशौकत त्यो प्रमुख कार्यकारी अधिकृतभन्दा नै ठूलो देखिन्छ भने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । किनकि बैंकको प्रमुख कार्यकारी अधिकृतको आम्दानी, बोनस, कर र आर्थिक विवरण कम्तीमा कागजमा स्पष्ट देखिन्छ । तर नेपालमा यस्ता धेरै शक्ति केन्द्र छन् जहाँ घोषित आम्दानी सीमित देखिए पनि जीवनशैली, राजनीतिक पहुँच, सम्पत्ति र प्रभाव असामान्य रूपमा ठूलो देखिन्छ । म यहीँ प्रश्न उठाइरहेको हुँ । म कसैलाई अदालतले दोषी ठहर गरिसकेको निष्कर्ष निकालिरहेको छैन । तर दक्षिण एशियाजस्तो अर्थतन्त्रमा तीव्र आर्थिक विस्तार, राजनीतिक निकटता, बैंकिङ पहुँच र व्यापार विस्तारबीच सम्बन्ध नदेखेझैँ गर्न पनि गाह्रो लाग्छ ।
विनोद चौधरीकै कुरा गर्ने हो भने नेपालको कानुनले तपाईँ हामीलाई उनले झैँ विदेशमा कम्पनी खोल्ने वा लगानी गर्ने सहज अनुमति दिँदैन । लगानी त परै जाओस्, अमेरिकामा घर किन्न लागेकी छोरीलाई नेपालबाट खुलेआम पैसा पठाउन पनि सामान्य मानिसले सक्दैन । विदेशी मुद्रा नियन्त्रणका नियम यति कडा छन् कि केही हजार डलर बाहिर पठाउनसमेत अनेक प्रक्रिया पार गर्नुपर्छ ।
तर उता उनका व्यवसाय अफ्रिकासम्म फैलिएका छन् । होटल, चाउचाउ, बैंकिङ, दूरसञ्चारदेखि अन्तर्राष्ट्रिय कम्पनीहरूमा लगानी पुगेको छ । तब स्वाभाविक प्रश्न उठ्छ त्यो पूँजी नेपालबाट बाहिर कसरी गयो ?
म यो भन्दैछैन कि उनले गैरकानुनी काम नै गरे । सम्भवतः सिंगापुर, दुबई, अफशोर कम्पनी, विदेशी साझेदार, होल्डिङ कम्पनी, गैरआवासीय नेपाली संरचना वा अन्य अन्तर्राष्ट्रिय वित्तीय माध्यम प्रयोग गरेर लगानी विस्तार गरिएको होला । तर समस्या त्यहाँ छ जहाँ यस्ता संरचना केही सीमित शक्ति केन्द्रका लागि मात्र उपलब्ध देखिन्छन् ।
आम नागरिकका लागि कानुन एउटा हुन्छ, ठूला व्यवसायिक घरानाका लागि अर्को बाटो खुला देखिन्छ । त्यसैले दक्षिण एशियाजस्तो संरचनामा केवल सोझो र इमान्दार आम्दानीको भरमा असाधारण आर्थिक छलाङ्ग मार्नु अत्यन्त कठिन देखिन्छ । कतिपय अवस्थामा त लगभग असम्भव नै ।